टप एन्ड टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित

1.3k Shares

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १०.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका जिशान आलमले २९ बलमा अविजित ५२ रन बनाए भने अरिफुल इस्लामले अविजित ३४ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । बिपिन खत्रीले अविजित ११ तथा रिजन ढकालले १० रन जोडे ।

नेपालको सुरुवात भने निकै खराब रह्यो । टोली ४ ओभरमा १३ रन जोड्दा ५ विकेट गुमाएको अवस्थामा पुगेको थियो । त्यसपछि कुशल भुर्तेलले सम्हालिएर ब्याटिङ गर्दै नेपालको स्कोर केही सम्मानजनक अवस्थामा पुर्‍याएका थिए ।

बंगलादेशविरुद्ध नेपालका लागि शाहब आलमले एक विकेट लिए । अन्य नेपाली बलरले बंगलादेशका ब्याटरलाई रोक्न सकेनन् ।

नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पनि पराजित भएको थियो । लगातार दुई खेल गुमाएपछि नेपालले अब प्रतियोगितामा पहिलो जितको खोजी गर्नेछ । नेपालले टप एन्ड टी–२० सिरिजको तेस्रो खेल सोमबार होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार