बालिका हिंसाका घटना बढेपछि सिजप चिन्तित, दोषीलाई उन्मुक्ति नदिन आग्रह

974 Shares

काठमाडौं । बालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा हत्या जस्ता घटनाहरू बढ्दै गएको भन्दै सिजपले गम्भीर चिन्ता व्यक्त गरेको छ । संस्थाले बालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायलाई थप संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको छ ।

सिजपले पछिल्लो समय बालिकामाथि हुने हिंसाका घटना सार्वजनिक भइरहनु दुःखद र गम्भीर विषय भएको जनाएको छ । बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा, शोषण, यौन दुर्व्यवहार तथा अपराधलाई सामान्य रूपमा लिन नहुनेमा संस्थाले जोड दिएको छ ।

संस्थाले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई निष्पक्ष अनुसन्धान गर्न तथा कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ । पीडित बालिका तथा उनका परिवारलाई आवश्यक सुरक्षा, न्याय र मनोसामाजिक सहयोग उपलब्ध गराउन पनि सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

बालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि राज्यका संयन्त्रसँगै परिवार, विद्यालय, समुदाय र नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको सिजपको भनाइ छ । बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण गर्न जनचेतना अभिवृद्धि र प्रभावकारी संरक्षण प्रणाली आवश्यक रहेको संस्थाले जनाएको छ ।

सिजपले बालिकामाथि हुने हिंसाका घटनामा दोषीलाई संरक्षण वा राजनीतिक तथा सामाजिक दबाबका आधारमा उन्मुक्ति दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा समेत जोड दिएको छ ।

बालिकाको जीवन, सुरक्षा र सम्मानको अधिकार सुनिश्चित गर्न सरकारले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनसँगै बाल संरक्षणसम्बन्धी संयन्त्रलाई थप बलियो बनाउनुपर्ने सिजपको माग छ ।

सम्बन्धित समाचार