ममाथि लगाइएका आरोप निराधार छन् : एसपी गोविन्द काफ्ले

1.1k Shares

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले आफूविरुद्ध लगाइएका आर्थिक लेनदेन तथा मिटरब्याजसम्बन्धी आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठले काफ्लेले आफूलाई रकम लगानी गरेर चर्को ब्याज असुलेको तथा दबाबमा विभिन्न चेक काट्न लगाएको आरोप लगाएका छन्। श्रेष्ठका अनुसार काफ्लेले ४५ लाख रुपैयाँ लगानी गरी हालसम्म ७१ लाख ३३ हजार रुपैयाँ असुल गरिसकेका छन्। थप रकमका लागि आफूलाई नियन्त्रणमा लिएर चेक काट्न बाध्य बनाएको उनको आरोप छ।

तर एसपी काफ्लेले भने आफूले श्रेष्ठसँग कुनै रकम लिनु–दिनु नरहेको बताएका छन्। उनले आफूविरुद्ध लगाइएको आरोपबारे अनभिज्ञता जनाउँदै आरोपहरू अस्वीकार गरेका छन्।

यस विषयमा काफ्लेले श्रेष्ठविरुद्ध आपराधिक बल प्रयोगसम्बन्धी मुद्दा दायर गरेको र उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको जनाइएको छ। चेकसम्बन्धी विवादमा श्रेष्ठले उच्च अदालत पाटनमा पनि निवेदन दिएका थिए। अदालतले भदौ ४ गते श्रेष्ठका परिवारलाई धरपकड नगर्न अन्तरिम आदेश दिएको स्रोतमा उल्लेख छ।

आफूमाथि लागेको आरोप अस्वीकार गर्दै काफ्लेले कानुनी प्रक्रियाबाटै विषय टुंगो लाग्ने बताएका छन्। हाल उनी गण्डकी प्रदेशअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनडौंडा, कास्कीमा कार्यरत रहेको समाचारमा उल्लेख छ।

सम्बन्धित समाचार