काठमाडौं । नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन्। सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा भएका हुन्।
भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भण्डारी र थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूले नयाँ जिम्मेवारी पाएका हुन्।
बढुवा भएका दुवै उपरथीलाई सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
यसैगरी नेपाली सेनाका चार जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। उनीहरूलाई पनि सोमबार नै प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बढुवासँगै उनीहरूले नेपाली सेनामा थप जिम्मेवारी सम्हाल्नेछन्। सेनाले बढुवा भएका अधिकृतहरूलाई नयाँ जिम्मेवारीमा प्रभावकारी रूपमा काम गर्न शुभकामना दिएको छ।