जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किए

1.3k Shares

काठमाडौँ । न्युजिल्यान्डका अलराउन्डर जिमी निसम आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा फर्किएका छन्। जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय निसमलाई आगामी सिजनका लागि अनुबन्ध गरिएको जनाएको हो।

निसमले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका थिए। उनले ९ खेलमा २४७ रन बनाउनुका साथै ७ विकेट लिएका थिए। उनको स्ट्राइक रेट १९६ भन्दा बढी थियो। उत्कृष्ट स्ट्राइक रेटका आधारमा उनलाई पहिलो संस्करणमा ‘बेस्ट स्ट्राइक रेट’ अवार्डसमेत प्रदान गरिएको थियो।

पहिलो संस्करणमा ‘क्याप्ड’ खेलाडीको कोटाबाट जनकपुरको प्रतिनिधित्व गरेका निसम समर्थकमाझ निकै लोकप्रिय बनेका थिए। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले निसमले मैदानमा मात्र नभई समर्थकको मनमा समेत विशेष स्थान बनाएको बताएका छन्।

दोस्रो संस्करणमा जनकपुरसँग क्याप्ड खेलाडीको कोटा नभएपछि निसम पोखरा एभेन्जर्समा आबद्ध भएका थिए। उनले पोखराबाट ४ खेल खेल्दै एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए। यसपटक भने निसम टेस्ट कोटाबाट जनकपुर बोल्ट्समा खेल्नेछन्।

निसमले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र १०५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा समेत सहभागिता जनाएका छन्।

उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्स, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलिसकेका छन्। त्यस्तै, लंका प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, दक्षिण अफ्रिकाको एसए–२०, द हन्ड्रेड, बिग बास लिग र क्यारेबियन प्रिमियर लिगलगायत प्रतियोगितामा पनि उनले सहभागिता जनाएका छन्।

सन् २०२४ मा जनकपुरलाई एनपीएलको उपाधि जिताउन सफल हुनु निसमको फ्रेन्चाइज क्रिकेट करियरकै पहिलो उपाधि थियो।

सम्बन्धित समाचार