रसुवा । रसुवामा आएको भीषण बाढीले तीन वटा प्रहरी कार्यालय बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण टिमुरे र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।
बुधबार बिहान आएको आकस्मिक बाढीले बजार क्षेत्र, घर तथा विभिन्न सरकारी र निजी संरचनामा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत केही प्रहरीसँग सम्पर्क हुन नसकेको जानकारी पनि आएको छ।
बाढीले रसुवा नाका क्षेत्रका बजार तथा संरचनामा ठूलो क्षति पुर्याएको र केही स्थानमा उद्धार तथा क्षतिको विवरण संकलनको काम जारी रहेको जनाइएको छ। बाढीको कारण र क्षतिको पूर्ण विवरण भने अझै यकिन भइसकेको छैन।
प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले उद्धार र खोजी कार्यलाई तीव्र बनाएका छन्। यसैबीच, त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
बाढीले बगाएका तीन प्रहरी कार्यालय कुन–कुन हुन्, त्यहाँ कार्यरत प्रहरी कर्मचारीको अवस्था कस्तो छ र अन्य भौतिक क्षतिको विवरण कति पुगेको छ भन्नेबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।