काठमाडौं । रसुवामा बुधबार आएको बाढीले विभिन्न जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। त्यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन्।
विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। विद्युत आपूर्ति नियमित गर्न आवश्यक काम भइरहेको भन्दै प्राधिकरणले आपूर्ति सुचारु नहुन्जेल उपभोक्तालाई धैर्य गर्न आग्रह गरेको छ।
बाढीले विद्युत संरचनाबाहेक घर, सडक र पुललगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरेको छ। साथै, बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास र अन्य जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत आग्रह गरेको छ।