आज राति देशभरको मौसम : धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी

1.1k Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि वर्षा हुनसक्नेछ।

आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धारका काममा सावधानी अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न आग्रह गरिएको छ।

 
 
 
 
सम्बन्धित समाचार