काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालतर्फ मात्र होइन, चीनको तिब्बतस्थित जिलोङ क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। बाढी र पहिरोका कारण चीनतर्फको सीमावर्ती क्षेत्रमा जनधन तथा पूर्वाधारमा क्षति पुगेपछि उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ।
चीनको जिलोङ सीमा नाका आसपास बाढी र पहिरोले सडक, विद्युत् तथा अन्य संरचनामा क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेर तीव्र बनाउन निर्देशन दिएका छन्।
चीनतर्फ जिलोङ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको र सयौँ मानिस सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। उद्धारका लागि विभिन्न सुरक्षा तथा आपत्कालीन टोली परिचालन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
यता नेपालतर्फ रसुवा, नुवाकोटलगायत क्षेत्रमा बाढीले व्यापक क्षति पुर्याएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको विवरण थपिने क्रम जारी छ। पछिल्लो विवरणअनुसार नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको यस विपत्तिमा नेपालतर्फ मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
दुवै देशका सुरक्षा निकाय तथा उद्धार टोली प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यमा जुटिरहेका छन्। सीमा क्षेत्रको यातायात र सञ्चार प्रणालीमा समेत असर परेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।