प्रभावित क्षेत्रमा उद्धार तीव्र, सेनाले परिचालन गर्‍यो पाँच हेलिकोप्टर

1.4k Shares

काठमाडौं । विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेनाले पाँच वटा हेलिकोप्टर परिचालन गरेको छ । स्थलमार्ग अवरुद्ध भएका र तत्काल उद्धार आवश्यक रहेका क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार तथा राहत सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ।

विपद्पछि खोज तथा उद्धार कार्यका लागि दुई हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा खटिएका सैनिकले जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, बेपत्ता व्यक्तिको खोजी गर्ने तथा राहत व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

नेपाली सेनाका हेलिकोप्टरले दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा प्राथमिकताका आधारमा उद्धार कार्य गरिरहेका छन्। आवश्यकताअनुसार घाइते तथा बिरामीलाई सुरक्षित स्थानमा ल्याउने र राहत सामग्री पुर्‍याउने काम पनि भइरहेको जनाइएको छ।

यसैबीच, विपद्पछि क्षतिको विवरण संकलन गर्ने र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने काम जारी रहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनको समन्वयमा उद्धार अभियान सञ्चालन भइरहेको छ।

अधिकारीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन र आवश्यक परे सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार