रसुवा बाढीमा बेपत्ता पत्रकार र उनीहरूका परिवारको खोजी गर्न पत्रकार महासंघको माग

1.1k Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले रसुवा बाढीमा बेपत्ता भएका पत्रकार तथा पत्रकारका परिवारका सदस्यहरूको तत्काल खोजी गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेका हुन्।

विज्ञप्तिअनुसार समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएका छन्। उनको परिवारबाट महासंघलाई थामी सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको जनाइएको छ।

त्यस्तै, नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्यसमेत सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको महासंघले जनाएको छ।

महासंघले बेपत्ता पत्रकार तथा उनीहरूका परिवारका सदस्यको अवस्था तत्काल पत्ता लगाउन आवश्यक पहल गरी खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनुका साथै सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यमको नियमित सञ्चालनमा समेत समस्या परेको महासंघले जनाएको छ।

महासंघले प्रभावित क्षेत्रमा सञ्चार सेवा तत्काल नियमित गर्न आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न सहयोग गर्न सबै पक्षलाई अपिल गरेको छ।

 
सम्बन्धित समाचार