ल्हेन्दे खोलामा बनेको तालबाट फेरि बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता

1.2k Shares

काठमाडौं । लाङटाङ हिमालको उत्तरी भेगमा विशाल हिमस्खलनपछि ल्हेन्दे खोलाको बहाव अवरुद्ध हुँदा नयाँ ताल बनेको पाइएको छ । तालको आकार बढ्दै गएपछि प्राकृतिक बाँध फुटेर भोटेकोशीको तल्लो तटीय क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिम बढेको छ ।

चिनियाँ सञ्चारमाध्यम, भू–उपग्रहबाट प्राप्त तस्बिर तथा विज्ञहरूको विश्लेषणअनुसार दुई साना हिमाली खोल्साको दोभानमा पानी जम्मा भएर ताल बनेको हो ।

चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले छोचेन खोला र पुरेपु हिमनदीको फेदबाट आउने पानी जम्मा हुँदै ल्हेन्दे खोलाको बहावमा अवरोध सिर्जना भएको जनाएको छ । ल्हेन्दे खोला रसुवागढीमा पुगेर केरुङ खोलामा मिसिन्छ ।

बिहीबारसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिर बग्न थालेको जनाइएको छ । आगामी दुई–तीन दिनमा थप १० लाख घनमिटर पानी जम्मा भएर कुल ३० लाख घनमिटर पुग्न सक्ने भन्दै चिनियाँ पक्षले प्राकृतिक बाँध फुट्न सक्ने चेतावनी दिएको छ ।

१८ किलोमिटर उत्तरमा ताल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न सूचना जारी गर्दै भोटेकोशीको तटीय क्षेत्रमा पुनः जोखिम बढेको जनाएको छ ।

प्राधिकरणका अनुसार प्लानेट ल्याब र ल्यान्डस्याटबाट प्राप्त भू–उपग्रह तस्बिरको विश्लेषण गर्दा ल्हेन्दे खोलामा नयाँ ताल विस्तार भइरहेको देखिएको हो । रसुवागढी नाकाबाट करिब १८ किलोमिटर उत्तरमा खोलाको बहाव अवरुद्ध भएर बनेको तालको क्षेत्रफल करिब ०.११ वर्गकिलोमिटर पुगेको छ ।

प्राधिकरणले प्राकृतिक बाँध फुटेर पुनः ठूलो बाढी आउन सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबारको जस्तो ठूलो बाढी नआउने अनुमान

त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहालले तालले पुनः बाढीको त्रास बढाए पनि बुधबार आएको जस्तो ठूलो बाढी आउने सम्भावना कम रहेको बताएका छन् ।

उनका अनुसार अहिले बनेको तालको आकार तुलनात्मक रूपमा सानो छ । ‘ताल विस्फोट भइहालेमा त्यहाँबाट आउने बाढी बुधबारको जस्तो हुँदैन,’ उनले भने ।

ऊर्जा मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा पानी जम्मा भएर ताल बनेको र यसको आकार बढिरहेको जानकारी चिनियाँ पक्षले नेपाललाई दिएको थियो ।

चिनियाँ पक्षले नजिकबाट निगरानी गरिरहेको र पानीको मात्रा बढेपछि बाँध फुट्न सक्ने आकलनका आधारमा नेपाललाई सतर्क गराइएको हुनसक्ने पराजुलीको भनाइ छ ।

‘त्यही भएर हामीले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हौं,’ उनले भने ।

पराजुलीका अनुसार अहिले जम्मा भएको पानी बुधबार आएको बाढीको तुलनामा करिब १० प्रतिशत मात्रै हो । त्यसैले ताल फुटे पनि बुधबारको भन्दा ठूलो क्षति हुने सम्भावना नरहेको उनको आकलन छ । तर उद्धारकर्मी तथा स्थानीयले तटीय क्षेत्रमा निश्चिन्त भएर आवतजावत गर्ने अवस्था नरहेको उनले बताए ।

हिमस्खलनपछि बनेको ताल

जलस्रोत विशेषज्ञ सन्तोष नेपालका अनुसार बुधबार लाङटाङ हिमालको उत्तरी भागबाट बरफ, हिउँ र चट्टानसहितको ठूलो ढिस्को करिब ५ हजार ५०० मिटरको उचाइबाट तल खसेको अनुमान छ ।

त्यो ढिस्को करिब ३ हजार मिटरको उचाइसम्म खसेर ठूलो ऊर्जा उत्पन्न गरेको र त्यस क्रममा तलको क्षेत्रमा ठूलो खाडल बनेको हुनसक्ने विज्ञहरूको अनुमान छ ।

हिउँ, बरफ, चट्टान र लेदो मिसिएको ठूलो ढिस्को तल झरेपछि खोलाको बहाव अवरुद्ध भएर त्यहाँ ताल बनेको हुनसक्ने विशेषज्ञहरू बताउँछन् ।

चिनियाँ टोलीद्वारा ड्रोनबाट निरन्तर निगरानी

चिनियाँ टोलीले भोटेकोशी बाढीको सम्भावित मुहान क्षेत्रमा बिहीबारदेखि ड्रोनमार्फत निरन्तर निगरानी गरिरहेको छ । ड्रोन निगरानीका क्रममा हिउँ र माटोको लेदोसहितको बहाव जारी रहेकाले जोखिम अझै कायम रहेको जलवायु विशेषज्ञ उज्वल उपाध्यायले बताएका छन् ।

उनका अनुसार प्राकृतिक जलाशयमा पानीको मात्रा बढ्दै गएकाले अचानक पानीको बहाव बढ्ने तथा थप श्रृंखलाबद्ध विपद्को जोखिम रहन्छ ।

प्राध्यापक दाहालका अनुसार ल्हेन्दे खोला नेपाल–चीन सीमा क्षेत्रमै रहेको छ । ताल बनेको स्थानसम्म नेपाली पक्षबाट तत्काल हेलिकोप्टरमार्फत पुगेर अध्ययन गर्न कठिन भएकाले चिनियाँ टोलीको ड्रोन निगरानीबाट प्राप्त सूचनाले जोखिम आकलनमा सहयोग पुगेको छ ।

चिनियाँ पक्षबाट तालको आकार बढिरहेको र बाँध फुट्न सक्ने सम्भावनाबारे प्राप्त सूचनाका आधारमा नेपालले भोटेकोशी तथा त्रिशूलीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सम्बन्धित समाचार