‘बाढी आयो, भागौँ–भागौँ’ भन्दै करवीरले जोगाए ज्यान, टिमुरे बजारमा देखे कहालीलाग्दो दृश्य

1.8k Shares

काठमाडौं । बुधबार बिहान करिब पौने ९ बजे रसुवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत करवीर गैह्रे नियमित काममा व्यस्त थिए । मौसम सफा थियो । चीनतर्फ पनि मौसम सामान्य रहेको जानकारी थियो ।

अचानक उनको टेबल र कम्प्युटर हल्लियो । उनलाई भूकम्प आएको जस्तो लाग्यो । कार्यालयबाट बाहिर निस्कने क्रममा झ्यालतिर हेर्दा चीनतर्फबाट आउने खोलामा धुलो–धुवाँको ठूलो मुस्लो देखियो ।

दृश्य अस्वाभाविक थियो । उनले तत्काल कार्यालयभित्र रहेका कर्मचारीलाई चिच्याउँदै भने, ‘बाढी आयो, भागौँ–भागौँ ।’

गैह्रेको त्यो चेतावनीपछि उनीसहित केही कर्मचारी पहाडतिर दौडिए । करिब १० सेकेन्डमै बाढी कार्यालय परिसरमा आइपुग्यो । समयमै उच्च स्थानतर्फ भागेकाले उनीहरू जोगिए । तर, त्यसको केही मिनेटमै टिमुरे बजार र भन्सार क्षेत्रमा ठूलो विनाश भयो ।

एक मिनेटअघि कुरा गरेका सहकर्मी फेरि देखिएनन्

गैह्रेका लागि बुधबारको घटनाको सबैभन्दा पीडादायी पक्ष आफ्नै सहकर्मी दिनेश घिमिरेको बेपत्ता हुनु हो । भन्सार कार्यालयका नायब सुब्बा घिमिरे घटना हुनुभन्दा करिब एक मिनेटअघि मात्रै गैह्रेको टेबलमा आएका थिए ।

‘सर, यो के–के गर्ने ?’ भन्दै कामबारे सोधेका घिमिरेलाई गैह्रेले काम सम्झाइदिए । त्यसपछि उनी आफ्नो बाटो लागे ।

उत्तरी भूभाग तिब्बततर्फबाट बाढी उर्लिरहेको भए पनि घिमिरेले त्यसलाई भूकम्प ठाने । घरबाट बाहिर निस्केर खुला ठाउँ खोज्दै उनी नदी बग्ने दिशातर्फ दौडिए । गैह्रे भने बाढीको दृश्य देखिसकेकाले पहाडतिर भागे । त्यसपछि घिमिरेसँग उनको भेट हुन सकेन ।

‘एक मिनेटअघि मात्रै उहाँ मसँग आएर सर, यो के गर्ने भनेर सोध्नुभएको थियो । मैले यो गराउनु भनेर दिएको थिएँ । एक मिनेटपछि तलको मान्छे भागेर पहाडतिर गयो, बाँच्यो,’ गैह्रेले भने, ‘सुब्बा साब भूकम्प होला भनेर घरबाहिर निस्किएर जता नदी बग्छ त्यतैतिर दौडिनुभयो । एक मिनेटमै मान्छे छैन ।’

उनका अर्का सहकर्मी विष्णु भुसाल सुरक्षित स्थानमा पुगेका थिए । तर, नायब सुब्बा अनिता पुरीलाई लिन जाँदा उनी पनि बाढीमा परेको जानकारी आफूले पाएको गैह्रेले बताए । उनका अनुसार बाढीमा बाँच्ने र बग्नेबीच केही सेकेन्डको मात्रै फरक थियो ।

चार किलोमिटर माथि पुगे, उद्धार कुर्दाकुर्दै दिउँसो भयो

बाढी आएको देखेपछि गैह्रेसहित केही कर्मचारी पहाडतिर उक्लिए । उनीहरू करिब एक किलोमिटर माथि पुगेपछि पनि सुरक्षित स्थानको खोजीमा खैरी गाउँतिर गए । खैरी भन्सार कार्यालयबाट करिब चार किलोमिटर टाढा पर्छ । पछि कार्यालय प्रमुखको निर्देशनपछि उनीहरू उद्धारको प्रतीक्षामा तल फर्किए ।

करिब पौने ११ देखि ११ बजेको बीचमा उनीहरू उद्धारका लागि मानिसहरू जम्मा भएको स्थानमा आइपुगे । त्यहाँको दृश्य झनै त्रासदीपूर्ण थियो । कतिपय घाइते थिए । कसैको खुट्टा भाँचिएको थियो ।

कतिपय मानिस बाढीले नभई ज्यान जोगाउन भाग्ने क्रममा ढुंगा र अन्य वस्तुमा ठोक्किएर घाइते भएका थिए । उद्धारका लागि नेपाली सेनाको टोली पुगे पनि पहिलो प्राथमिकता घाइते र बिरामीलाई दिइएको थियो । त्यसैले गैह्रेसहितका कर्मचारीले लामो समय उद्धारको पालो कुर्नुपर्‍यो ।

दिउँसो करिब साढे २ बजेपछि मात्रै सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्धार गर्‍यो । भन्सार कार्यालयमा ४० कर्मचारीमध्ये ६ जना बिदामा थिए । घटनास्थलमा रहेका कर्मचारीमध्ये गैह्रेसहित आठ जनालाई सेनाको हेलिकोप्टरले त्रिशूली पुर्‍याएको थियो ।

त्रिशूलीमा स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य देखिएपछि उनीहरूलाई काठमाडौं जान भनिएको थियो । त्यसपछि कार्यालय प्रमुखसहित आठ जनाको टोली गाडी रिजर्भ गरेर काठमाडौं आएको थियो । उनीहरू राति करिब साढे ९ बजे काठमाडौं पुगे ।

गैह्रेले बाढीपछि देखेको टिमुरे बजारको दृश्य कल्पनाभन्दा बाहिरको रहेको बताए । उनका अनुसार बाढी नदीको बेसिनभन्दा करिब १०० देखि १५० मिटर माथिसम्म पुगेको थियो । करिब २०० घरधुरी रहेको टिमुरे बजारको ठूलो हिस्सा बाढी र लेदोले बगाएको छ । त्यहाँ करिब ४० देखि ५० वटा पक्की घर र बाँकी टिनलगायतका कच्ची घर रहेको उनले बताए ।

‘अहिले त सय मिटर माथिको टिमुरे बजार नै केही पनि छैन । एउटा–दुईवटा घर अलिकति ठाडो देखिन्छन्,’ उनले भने, ‘ती घरहरू पनि जहाँ थिए, त्यही बेसमा छैनन् । अलिकति बगेर २०–२५ मिटर तल आएर ठडिएका छन् ।’ ह्रेका अनुसार बाढीपछि कतिपय ठाउँमा लेदोको तह नै करिब २० देखि २५ मिटर जति देखिएको छ ।

गत वर्ष पनि टिमुरेमा बाढी आएको थियो । तर, त्यसबेला भन्सार यार्डमा सामान्य क्षति भएको थियो । यसपटकको बाढी भने त्यसको तुलनामा अत्यन्त विनाशकारी रहेको उनले बताए ।

सयौँ मानिस र सयौँ सवारीसाधन भन्सार क्षेत्रमा

रसुवा भन्सार क्षेत्रमा कर्मचारी मात्रै नभई कामदार, चालक, व्यापारी तथा यात्रुको समेत ठूलो भीड हुने गर्छ । सामान्य अवस्थामा बिहानै भन्सार यार्डमा करिब १०० देखि १५० जनासम्म मानिस हुने गैह्रेको अनुमान छ । गाडीका सामानको प्याकिङ लिस्ट बनाउनेदेखि सामान लोड–अनलोड गर्ने कामदारसम्म त्यहाँ उपस्थित हुन्छन् ।

चीनतर्फबाट नेपाल आउने विद्युतीय सवारीसाधन तथा मालवाहक गाडीको संख्या पनि ठूलो हुने भएकाले बाढी आउँदा त्यहाँ कति मानिस र सवारीसाधन थिए भन्ने यकिन गर्न कठिन भएको उनले बताए ।

उनका अनुसार बाढीमा करिब ३०० विद्युतीय सवारीसाधन र ५० देखि ६० वटा मालवाहक गाडी बगेको अनुमान छ । घटना भएको समयमा चीनतर्फबाट नेपाल आउने समय भएकाले पनि सवारीसाधनको चाप बढी थियो । उनका अनुसार करिब ५० वटा गाडी चीनतर्फको क्षेत्रमा रहेको हुनसक्ने अनुमान गरिएको थियो ।

अध्यागमन कार्यालयमा पनि ठूलो भीड थियो । उनका अनुसार पछि प्राप्त जानकारीअनुसार करिब १५० जना नेपाल प्रवेशका लागि लाइनमा थिए भने नेपालबाट चीनतर्फ जाने यात्रुहरूको संख्या पनि उल्लेख्य थियो । मानसरोवर यात्रा गरेर फर्किएका यात्रुहरू समेत त्यस क्षेत्रमा थिए ।

एउटा निर्देशनले जोगायो धेरै कर्मचारीको ज्यान

गैह्रेका अनुसार भन्सार कार्यालयका प्रमुखले बिहान साढे ७ बजे नै कर्मचारीलाई कार्यालय आउन निर्देशन दिएका थिए । त्यसका कारण धेरै कर्मचारी समयमै कार्यालय पुगेका थिए ।

‘कार्यालय प्रमुखले साढे सात बजे अफिस आउनुस् भन्नुभएकोले धेरै साथीहरू बाँच्नुभयो,’ उनले भने, ‘जो साथीहरू कार्यालयमा जानुभएन, उहाँहरू मिसिङ हुनुहुन्छ ।’ भन्सार कार्यालय नदीको सतहभन्दा माथिल्लो भागमा रहेकाले कर्मचारीले बाढी आएको देख्ने अवसर पाए । त्यसैले उनीहरू उच्च भूभागतर्फ भाग्न सफल भए ।

तर, टिमुरे बजारमा रहेका मानिसले त्यस्तो अवसर पाएनन् । चार–पाँच तलाका घरमा रहेका वृद्धवृद्धा, परिवार र व्यापारीलाई केही सेकेन्डमै घरबाट निस्किएर सुरक्षित स्थानतर्फ भाग्न कठिन भएको गैह्रेले बताए ।

भन्सार कार्यालयका नायब सुब्बा धर्मराज शाहीले भने चारतले घरबाट हिलोमा हाम फालेर ज्यान जोगाएको उनले सुनाए । घाइते शाही उपचारका लागि अस्पतालमा रहेको गैह्रेले बताए ।

सूचना अधिकारी आफैँ सूचना खोज्दै

भन्सार कार्यालयका सूचना अधिकारीसमेत रहेका गैह्रेले सामान्य अवस्थामा चीनतर्फबाट सानो जोखिम भए पनि सूचना आउने गरेको बताए । ठूलो वर्षा हुँदा तटीय क्षेत्रमा सतर्क रहन सन्देश आउने गरेको थियो । तर, यसपटकको बाढी यति आकस्मिक थियो कि कुनै पूर्वसूचना नै आएन ।

‘यसपालि त्यो सम्भव भएन । हिजोको त कस्तो भयो भने एक्कासी त्यस्तो भयो के । केही पनि गर्न सक्ने स्थिति भएन,’ उनले भने । कार्यालयमा सबैभन्दा पहिले बाढी आएको देख्ने र अरूलाई जानकारी दिने व्यक्ति पनि आफू नै भएको उनले बताए ।

‘मेरो अफिसमा सबैभन्दा पहिला सूचना दिने मान्छे म भएँ । सूचना अधिकारी नै भएँ,’ उनले भने, ‘भूकम्प आयो भनेर बाहिर निस्किने बेला झ्यालबाट धुलो–मुस्लोसहितको देखेपछि बाढी आयो, भागौँ–भागौँ भन्नेबाहेक अरू कसैले केही सूचना दिन पाएनन् ।’

बुधबारको घटनापछि टिमुरे र रसुवा भन्सार क्षेत्रको अवस्था अत्यन्त भयावह बनेको छ । बाढीले मानवीय क्षतिसँगै बस्ती, सवारीसाधन, भौतिक संरचना तथा व्यापारिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । उद्धार तथा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ ।

Screenshot 2026-08-27 213205.png

सम्बन्धित समाचार