इतिहास रच्ने लक्ष्यसहित आज रिङमा उत्रँदै रवीन्द्र ढाँट

1.1k Shares

काठमाडौँ । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट आज आफ्नो करिअरकै सबैभन्दा महत्वपूर्ण प्रतिस्पर्धामा उत्रँदैछन्। उनले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकको सामना गर्दैछन्।

रवीन्द्र र मर्डोकबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा चीनको साङ्घाईस्थित अक्टागनमा नेपाली समयअनुसार अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ। दुवै खेलाडीको व्यावसायिक एमएमए यात्रा प्रभावशाली रहेकाले सेमिफाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

नौ जितसहित बलियो अवस्थामा रवीन्द्र

‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले हालसम्म बान्टमवेट विधामा १० व्यावसायिक खेल खेलेका छन्। उनले नौ खेलमा जित निकालेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्।

सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि रवीन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट–१७ मा उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै बान्टमवेट उपाधि जितेका थिए।

उक्त सफलतासँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

गत मे महिनामा मकाउमा भएको रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा पनि रवीन्द्रले प्रभावशाली प्रदर्शन गरे। उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका थिए। यससँगै उनी रोड टु युएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने।

जिते फाइनलमा पुग्ने पहिलो नेपाली

आजको खेल रवीन्द्रका लागि अर्को इतिहास बनाउने अवसर हो। कासिब मर्डोकलाई पराजित गर्न सके उनी रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन्।

अर्कोतर्फ मर्डोक पनि अपराजित यात्रालाई कायम राख्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छन्। उनको व्यावसायिक एमएमए करिअरमा अहिलेसम्म कुनै हार छैन। मर्डोकले गत मे महिनामा भएको क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमिफाइनलमा रवीन्द्रसँगको भेट पक्का गरेका हुन्।

युएफसीको ढोका खुल्ने अवसर

रवीन्द्र आजको भिडन्त जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ अक्टागनमा प्रवेश गर्नेछन्। सेमिफाइनल पार गरेर फाइनलसमेत जित्न सके उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।

त्यसैले आजको प्रतिस्पर्धा रवीन्द्रका लागि एउटा खेल मात्र नभई नेपाली एमएमएलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्‍याउने महत्वपूर्ण अवसरसमेत बनेको छ।

सम्बन्धित समाचार