काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परेकामध्ये विभिन्न आठ जिल्लामा ४६९ जनाको शव फेला परेको छ। शुक्रबार बिहान ७ बजेसम्मको नेपाल प्रहरीको बुलेटिनअनुसार बाढीमा परी बेपत्ता भएकाहरूको खोजीका क्रममा रसुवासहित आठ जिल्लामा ४६९ शव फेला परेका हुन्।
प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १७८ शव फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ शव फेला परेका छन्।
बाढीले बगाएका व्यक्तिहरूको खोजीका क्रममा त्रिशूली, नारायणी तथा अन्य नदी किनारका विभिन्न स्थानमा शव भेटिएका हुन्। नदीको बहावसँगै टाढाटाढाका जिल्लासम्म शव पुगेकाले खोजी तथा पहिचानको काम चुनौतीपूर्ण बनेको छ।
सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजी कार्य जारी राखेका छन्। फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।
बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएकाले फेला परेका शवको संख्या अझै बढ्न सक्ने र खोजी कार्य जारी रहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।