रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई नागार्जुनको गुम्बामा अस्थायी आश्रय

1.3k Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट उद्धार गरिएका बाढीपीडितलाई काठमाडौंको नागार्जुनस्थित येलो गुम्बामा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

सुरक्षाकर्मीले रसुवाबाट उद्धार गरी ल्याएका २५० जनालाई राख्नेगरी नागार्जुन–२ स्थित गुम्बामा व्यवस्था मिलाइएको भए पनि हाल करिब १०० जना बाढीपीडित त्यहाँ बसिरहेका छन् । उनीहरूलाई गुम्बाको ध्यान हलमा राखिएको छ ।

नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीका अनुसार उद्धार गरिएका पीडितको व्यवस्थापनका लागि व्यक्तिगत तथा संस्थागत सहयोग जुटिरहेको छ । नगरपालिकाले उनीहरूको स्वास्थ्य अवस्थाको निगरानीका लागि स्वास्थ्य टोलीसमेत खटाएको छ ।

अस्थायी आश्रयस्थलको अवस्थाबारे जानकारी लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि गुम्बामा पुगेका थिए ।

नेपाल रेडक्रस सोसाइटीले बाढीपीडितका लागि ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ । आवश्यकताअनुसार थप सहयोग जुटाउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

रसुवा क्षेत्रमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा ल्याउने तथा तत्कालीन आवास र स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ ।

सम्बन्धित समाचार