पहिचान हुन नसकेका २२९ शव आजदेखि जमिनमुनि व्यवस्थापन गरिँदै
1.1k
Shares
चितवन । रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये पहिचान हुन नसकेका २२९ शवलाई आजदेखि जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै संकलित २३३ शवमध्ये हालसम्म चारवटा मात्र पहिचान भएको जनाएको छ। पहिचान हुन नसकेका बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी किनारबाट संकलन गरिएका शव र शवका अवशेष सडगल्ने अवस्थामा पुगेका छन्। लामो समयसम्म शव राखिरहँदा दुर्गन्ध फैलिन थालेको र यसबाट संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले सुझाव दिएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णय तथा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम पहिचान हुन नसकेका सबै शवलाई सुरक्षित, सम्मानजनक र कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको हो।
प्रशासनका अनुसार शव व्यवस्थापन गर्नुअघि प्रत्येक शवको डीएनए नमुना संकलन गरिनेछ। त्यसपछि प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत नम्बर प्रदान गरी सोही आधारमा आवश्यक अभिलेख राखिनेछ। यसले भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराउन सहयोग पुग्नेछ।
पहिचान नभएका शवहरू भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा आजैदेखि व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
प्रशासनले शोकको विषम परिस्थितिमा बाध्यात्मक रूपमा यस्तो निर्णय गर्नुपरेको जनाएको छ। शव व्यवस्थापनका क्रममा आवश्यक सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै प्रशासनले यसबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ।
रसुवामा आएको बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि विभिन्न स्थानबाट शव तथा शवका अवशेष चितवनतर्फ बगेर आएका थिए। संकलित शवको पहिचानका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाइरहेको छ।