काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट हालसम्म ६१६ जनाको शव फेला परेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४५, तनहुँमा ३१, नुवाकोटमा ४१, गोरखामा ४८, चितवनमा २२२, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जना रहेका छन्।
बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन्।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार बाढीमा परी सर्वसाधारणसहित हालसम्म २ हजार ३८१ जना सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। सुरक्षा निकायले नदी आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गर्नुका साथै उद्धार गरिएकाहरूको व्यवस्थापन र घाइतेको उपचारमा समेत समन्वय गरिरहेको छ।
