काठमाडौँ । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको खोज तथा उद्धार कार्य रातभर जारी राखिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार अविरल वर्षा र जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेनासहितको उद्धार टोली प्रभावित क्षेत्रमा रातभर खटिएको हो।
रातको समयमा उद्धार कार्यलाई सहज बनाउन घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरिएको छ। मौसम प्रतिकूल रहेकाले थप जोखिम उत्पन्न हुन सक्ने अवस्थाबीच पनि उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिएको सचिवालयले जनाएको छ।
घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबी तथा भारी एक्स्क्याभेटर प्रयोग भइरहेको छ। ती उपकरणको सहायताले अवरुद्ध बाटो खुलाउने तथा पहिरो र माटोले पुरिएका हुन सक्ने स्थानसम्म पुग्ने प्रयास भइरहेको छ।
उद्धार टोलीले सम्भावित स्थानमा खोजी गर्न अत्याधुनिक ‘सर्च क्यामेरा’ र विशेष मोनिटरसमेत प्रयोग गरिरहेको छ। प्राविधिक टोली आपत्कालीन उपकरण तथा प्राथमिक उपचार सामग्रीसहित घटनास्थलमा समन्वय गरेर उद्धार कार्यमा खटिएको जनाइएको छ।
आयोजनामा बाढीका कारण फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे यकिन गर्न उद्धार टोलीले जोखिमका बीच खोजीलाई तीव्रता दिएको छ।