बाढी प्रभावित क्षेत्रमा वैकल्पिक स्थानबाट बैंकिङ सेवा सञ्चालन गरिने

1.4k Shares

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा तत्काल पुनः सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ।

केन्द्रीय बैंकले प्रभावित क्षेत्रमा विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गरिएको जनाएको छ। यसबाट प्रभावित नागरिकलाई बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

रसुवालगायत क्षेत्रमा आएको प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल राष्ट्र बैंकले दुःख व्यक्त गरेको छ। सम्पर्कविहीन रहेका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडाप्रति पनि केन्द्रीय बैंकले सहानुभूति जनाएको छ।

राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सञ्चालन गर्न आफू प्रयत्नशील रहेको जनाएको छ। प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गरिएको छ।

विषम परिस्थितिमा ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै प्रभावित सेवाग्राहीप्रति संवेदनशील भएर आवश्यक सहयोग जारी राख्न राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

सम्बन्धित समाचार