आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

1.2k Shares

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर मौसम बदली रहनेछ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

we.jpeg

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका विभिन्न क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। पहाडी तथा तराईका विभिन्न स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच, पछिल्लो समय रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा वर्षा तथा बाढीको जोखिम रहेकाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ। बाढी, पहिरो र डुबानको सम्भावित जोखिम रहेका क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा मौसम र बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित समाचार