बाढी प्रभावित क्षेत्रमा निःशुल्क टेलिकम सेवा अर्को सूचना नभएसम्म जारी

1.3k Shares

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोसी बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।

यसअघि नेपाल टेलिकमले भदौ १४ गतेसम्म प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराउँदै आएको थियो। राहत तथा उद्धार कार्यलाई सहज बनाउन उक्त सुविधा थप समयका लागि निरन्तरता दिइएको टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।

टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ।

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राखिएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी संरचनालाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

सम्बन्धित समाचार