काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीले नेपाल र चीनबीच भएको ऐतिहासिक सन्धिको साक्षीका रूपमा रहेको ढुंगा पनि बगाएको छ। बेत्रावतीमा रहेको उक्त ढुंगा सन् १७९२ मा भएको नेपाल–चीन सन्धिको सम्झना दिलाउने ऐतिहासिक चिनोका रूपमा रहेको थियो।
नेपालले सन् १७९१ मा तिब्बतमाथि सैन्य हमला गरेपछि त्यसको प्रतिकार गर्न चिनियाँ सेना नेपालतर्फ आएको थियो। युद्धमा नेपाली पक्ष पछि हट्न बाध्य भएपछि बेत्रावतीमा पुगेर सन्धि गर्न सहमत भएको थियो। त्यसपछि सन् १७९२ अक्टोबर २० मा नेपाल र चीनबीच सन्धि भएको थियो।
सोही सन्धिको सम्झना गराउने ढुंगा बेत्रावतीमा राखिएको थियो। तर, पछिल्लो रसुवा बाढीले उक्त ऐतिहासिक ढुंगा नै बगाएपछि नेपाल–चीन सम्बन्धको इतिहास बोकेको एउटा महत्वपूर्ण भौतिक प्रमाण हराएको छ।
शिलापत्रका अनुसार जंगबहादुरका छोरा पद्मजंगले लेखेको लाइफ अफ महाराजा पुस्तकमा बेत्रावती सन्धिका सात बुँदाबारे उल्लेख गरिएको छ। सन्धिमा नेपाल, तिब्बत र चीनबीचको सम्बन्ध तथा व्यापारलगायतका विषय समेटिएका थिए।
पहिलो, चीनलाई नेपाल र तिब्बत दुवैको पितासरह मान्ने तथा नेपाल र तिब्बतले एकअर्कालाई भाइका रूपमा व्यवहार गर्ने उल्लेख थियो।
दोस्रो, ल्हासामा लुटिएका नेपालीका सामानबारे चिनियाँ सरकारले अनुसन्धान गरेपछि तिब्बती अधिकारीहरूले पीडित नेपालीलाई त्यसको मूल्य भुक्तानी गर्ने व्यवस्था गरिएको थियो।
तेस्रो, सशस्त्र सैनिकबाहेक नेपाली नागरिकलाई नेपाल, तिब्बत र चीनबीच आवतजावत तथा तिब्बत र चीनको अधिकार क्षेत्रमा व्यापार गर्न अनुमति दिने व्यवस्था थियो।
चौथो, दुई पक्षमध्ये कुनै एकले अर्कोको भूभाग कब्जा गर्ने उद्देश्यले विवाद वा संघर्ष सुरु गरेमा दुवै सरकारका प्रतिनिधिले त्यसको विवरण पेकिङ दरबारमा पठाउने र त्यहाँबाट अन्तिम निर्णय हुने व्यवस्था थियो।
पाँचौँ, नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण गरेमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख गरिएको थियो।
छैटौँ, नेपाल र चीनले आपसी पितृवत् सम्बन्धको सम्मानस्वरूप प्रत्येक पाँच वर्षमा आफ्ना केही उत्पादन चीन पठाउने व्यवस्था गरिएको थियो।
सातौँ, त्यसको बदलामा चीनले नेपाललाई मैत्रीपूर्ण उपहार पठाउने तथा पेकिङ जाने र फर्कने नेपाली दूतमण्डलका लागि आवश्यक सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको थियो।
बेत्रावती सन्धिको ढुंगा केवल एउटा सामान्य ढुंगा नभई नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र १८औँ शताब्दीको महत्वपूर्ण राजनीतिक घटनाको स्मारकका रूपमा रहेको थियो। करिब २७४ वर्ष पुरानो इतिहाससँग जोडिएको उक्त चिनो बाढीले बगाएपछि ऐतिहासिक सम्पदा संरक्षणको विषयसमेत गम्भीर बनेको छ।