काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । तर, वैकल्पिक सडक साँघुरो, चिप्लो र जोखिमपूर्ण हुँदा यात्रु तथा चालकले थप सास्ती व्यहोर्नुपरेको छ ।
बाहुनबेँसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने सडक अहिले रसुवा जाने यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनका लागि प्रयोग भइरहेको छ ।
वैकल्पिक सडकमा एकपटकमा एउटा मात्र सवारीसाधन सहज रूपमा गुड्न सक्ने अवस्था छ । दुईतर्फबाट एकैपटक सवारीसाधन आएमा सडकमा जाम हुने गरेको छ ।
विशेषगरी उकालो सडकमा सवारीसाधनले पर्याप्त ‘पिकअप’ लिन नसक्दा समस्या हुने गरेको छ । राहत सामग्री बोकेका ठूला ट्रकहरू पनि उकालो चढ्न नसकेर बाटोमै रोकिने गरेका छन् ।
कुनै सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा त्यसको पछाडि रहेका अन्य सवारीसाधनसमेत घण्टौँसम्म रोकिनुपर्ने अवस्था छ । रसुवातर्फ राहत सामग्री लिएर गएका केही ट्रकसमेत बाटोमै फसेका छन् ।
यात्राका क्रममा लामो समय लाग्ने गरेको छ । विदुरबाट बिहान ११ बजे हिँडेको एउटा सवारीसाधन राति १ बजे मात्र धुन्चे पुगेको थियो । उक्त यात्राका क्रममा करिब पाँच–छ वटा सवारीसाधन उकालो चढ्न नसकेर केही समय बाटोमै रोकिएका थिए ।
भोटेकोसी बाढीका कारण मुख्य सडक तत्काल सञ्चालनमा आउन नसके वैकल्पिक सडकलाई व्यवस्थित गर्नुपर्ने देखिएको छ । सडक सुधार, ग्राभेल हाल्ने तथा सवारीसाधनको उचित व्यवस्थापन गर्न सके यात्रु तथा राहत सामग्री ओसारपसारमा सहजता हुने देखिन्छ ।