काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण मुख्य सडक तथा पुलहरू क्षतिग्रस्त भएपछि रसुवा जोड्न सञ्चालनमा ल्याइएको वैकल्पिक सडकमा पनि सवारीसाधन सञ्चालन सहज हुन सकेको छैन । साँघुरो, कच्ची र हिलाम्य सडकका कारण राहत सामग्री बोकेका सवारीसाधनलाई प्रभावित क्षेत्रमा पुर्याउन कठिनाइ भइरहेको छ ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि नुवाकोटको विदुर हुँदै ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथली, पाटीखर्क, बोगटीटार, कालिकास्थान हुँदै धुन्चेसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो । उक्त सडकमा चारपांग्रे साना सवारीसाधन सञ्चालन गर्न सकिने भए पनि सडकको अवस्था कमजोर हुँदा यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनले लामो समय लगाएर यात्रा गर्नुपर्ने अवस्था छ ।
वैकल्पिक सडक कतिपय ठाउँमा अत्यन्त साँघुरो रहेकाले एकैपटक दुईतर्फी सवारीसाधन चल्न समस्या हुने गरेको छ । पानी परेका कारण सडक हिलाम्य हुँदा सवारीसाधन चिप्लिने तथा उकालोमा चढ्न नसक्ने समस्या देखिएको छ । दुईतर्फबाट सवारीसाधन आएमा बाटोमै जाम हुने गरेको यात्रुहरूले बताएका छन् ।
कतिपय स्थानमा स्थानीय तहका डोजर परिचालन गरी सडक खुलाउने काम भइरहेको छ । तर डोजर नपुगेका ठाउँमा सडकमा फसेका वा रोकिएका सवारीसाधन हटाउन समस्या हुँदा राहत सामग्री बोकेका गाडीसमेत लामो समय जाममा पर्ने गरेका छन् ।
वैकल्पिक सडकको कठिन अवस्थाका कारण छोटो दूरीको यात्रा पनि लामो बन्न पुगेको छ । विदुरबाट धुन्चेसम्म पुग्न सामान्य अवस्थामा लाग्ने समयभन्दा निकै बढी समय लाग्ने गरेको छ । सोमबार विदुरबाट हिँडेको एउटा सवारीसाधन करिब १३ घण्टापछि मात्र धुन्चे पुगेको विवरण सार्वजनिक भएको छ । यात्राका क्रममा विभिन्न ठाउँमा सवारीसाधन उकालो चढ्न नसकेर रोकिनुपरेको थियो ।
मुख्य सडक अवरुद्ध हुँदा रसुवाका बाढी प्रभावित नागरिकसम्म खाद्यान्न, औषधि, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्री पुर्याउन वैकल्पिक मार्ग नै अहिले प्रमुख माध्यम बनेको छ । त्यसैले सडकलाई तत्काल फराकिलो बनाउने, हिलाम्य तथा जोखिमयुक्त स्थानमा मर्मत गर्ने र आवश्यक ठाउँमा डोजर परिचालन गर्ने कामलाई तीव्रता दिनुपर्ने अवस्था छ ।
यसैबीच बागमती प्रदेश सरकारले वैकल्पिक सडकमार्फत राहत सामग्री रसुवा पुर्याउने प्रयास गरिरहेको जनाएको छ । सडकका क्षतिग्रस्त स्थानमा मर्मत गर्दै टिपर तथा अन्य सवारीसाधनमार्फत राहत सामग्री उत्तरगयासम्म पुर्याइएको प्रदेश सरकारले जनाएको छ । वैकल्पिक मार्ग हुँदै अत्यावश्यक खाद्यान्नलगायत राहत सामग्री बोकेका तीनवटा गाडी रसुवा पुगेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज बनाउन वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकता दिइएको बताएका छन् । सडकलाई थप फराकिलो र सहज बनाउन फिल्डमै पुगेर कामको अनुगमन तथा समस्या समाधानको प्रयास भइरहेको उनले बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यावश्यक हवाई उद्धार आवश्यक नपर्ने व्यक्तिहरूलाई उपलब्ध वैकल्पिक स्थलमार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रमा आवतजावत गर्दा सडकको अवस्थालाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ ।
भोटेकोशी बाढीपछि रसुवाका धेरै ठाउँमा सडक तथा पुलमा क्षति पुगेका कारण उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावित भइरहेको छ । यस्तो अवस्थामा वैकल्पिक मार्गलाई तत्काल व्यवस्थित र सुरक्षित बनाउनुका साथै राहत सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्नुपर्ने देखिएको छ ।