भोटेकोसी बाढीलाई ठूलो संकटको संकेत भन्दै ओलीले भने– सगरमाथा संवाद चलाऊँ

876 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोसीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने ठूलो संकटको संकेत भएको बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले नेपालले पुनः ‘सगरमाथा संवाद’ आयोजना गर्नुपर्ने बताएका हुन्। उनले जलवायु परिवर्तनका विषयमा विश्वव्यापी बहस र साझा धारणा निर्माण गर्न विश्वका ठूला नेता तथा जलवायु विज्ञहरूलाई संवादमा सहभागी गराउनुपर्नेमा जोड दिए।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको भन्दै ओलीले यसको संरक्षणमा विश्व समुदायले पर्याप्त ध्यान दिनुपर्ने बताए। हिमालय क्षेत्रको संरक्षणमा बेवास्ता गरिए पृथ्वीमै अझ ठूलो विनाश निम्तिन सक्ने उनको चेतावनी थियो।

ओलीले भोटेकोसीमा गत बुधबारपछि आइतबार पनि ठूलो बाढी आएको उल्लेख गर्दै पछिल्लो बाढीबाट तुलनात्मक रूपमा थप क्षति हुन नपाएको बताए। उनका अनुसार यसअघि नै ठूलो क्षति भइसकेकाले पछिल्लो बाढीले थप ठूलो असर पार्न नसकेको हो।

भोटेकोसी बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तन र त्यसबाट उत्पन्न जोखिमबारे गम्भीर बहस आवश्यक रहेको देखाएको ओलीको भनाइ थियो।

सम्बन्धित समाचार