काठमाडौँ । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। नेपालले सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा बहराइनलाई ७ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो। बहराइनको पारी ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए। सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै बहराइनमाथि दबाब बनाएका थिए।
जितका लागि पाएको ८८ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमालले अविजित ३६ तथा रोहित पौडेलले अविजित १९ रन बनाए। बहराइनका इमरान जावेदले नेपालको दुई विकेट लिए भने अर्को विकेट रनआउटका रूपमा गुमेको थियो।
नेपालले एसीसी प्रिमियर कपमा अब बिहीबार मलेसियासँग दोस्रो खेल खेल्नेछ।