काठमाडौं । त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पुनःनिर्माणका लागि सडक विभागले निर्माण व्यवसायीसँग दररेट माग्न थालेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले योग्य निर्माण व्यवसायी तथा बोलपत्रदाताबाट विभिन्न निर्माण कार्यका लागि प्रति–इकाइ दररेट माग गर्दै सार्वजनिक सूचना जारी गरेको हो।
आयोजनाका इन्जिनियर शुभराज न्यौपानेका अनुसार पुनःनिर्माणका क्रममा आवश्यक पर्ने विभिन्न कामको दररेट पहिले नै संकलन गर्न सूचना जारी गरिएको हो। उनका अनुसार दररेट प्राप्त भएपछि क्षतिग्रस्त सडकमा तत्काल काम अघि बढाउन सहज हुनेछ।
‘रेट हुनेबित्तिकै काम गराउन सजिलो हुन्छ भनेर निर्माणका लागि सार्वजनिक सूचना निकालेका हौँ,’ इन्जिनियर न्यौपानेले भने।
आयोजनाले सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने र व्यवस्थापन गर्ने, माटो तथा चट्टान कटानी गर्ने कामका लागि दररेट मागेको छ। त्यस्तै, ९००, १२०० र १५०० मिलिमिटर व्यासका आरसीसी ह्युम पाइप राख्ने, ग्याबिन वाल तथा ग्याबिन म्याट्रेस निर्माण गर्ने कामका लागि पनि दररेट संकलन गरिने भएको छ।
त्यसैगरी तादी नदीमा क्षति पुगेको स्टिल ट्रस पुल खोलेर १५ किलोमिटरभित्रको स्टोरमा ढुवानी गर्ने कामका लागि पनि दररेट मागिएको छ। हेटौँडाबाट तादी (देवीघाट) सम्म दुई लेनको बेलिब्रिजका पार्टपुर्जा ढुवानी गरी जडान गर्ने तथा लोड टेस्टिङ गर्ने कामका लागि समेत निर्माण व्यवसायीबाट दररेट मागिएको आयोजनाले जनाएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड करिब ८२ किलोमिटर लामो छ। यसमध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे भइसकेको थियो।
हालै आएको बाढीपहिरोले सडकखण्डको करिब ५० प्रतिशत भागमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीपहिरोका कारण सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेपछि रसुवासहित उत्तरी नाका जोड्ने महत्वपूर्ण सडकमार्ग अवरुद्ध भएको छ।
विभागले नुवाकोटसम्म आउने सडकसहित क्षतिग्रस्त सम्पूर्ण खण्डको पुनःनिर्माण अघि बढाउन आवश्यक कामको दररेट संकलन गरिरहेको जनाएको छ। दररेट संकलनपछि क्षतिको प्रकृति र आवश्यकताअनुसार पुनःनिर्माण तथा मर्मतको काम अघि बढाइनेछ।