काठमाडौं । देशका विभिन्न भूभागमा भारी वर्षा सुरु भएसँगै नदी तथा खोलानालाको सतह बढ्न थालेकाले सतर्क रहन आग्रह गरिएको छ। आज अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको जनाइएको छ। लगातारको वर्षाका कारण ठूला तथा साना नदी र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
भारी वर्षाका कारण नदी तथा खोलामा एक्कासि बाढी आउन सक्ने, तटीय क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
विशेषगरी नदी किनार, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।
वर्षाका कारण सडक तथा यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।
सम्भावित बाढी, डुबान तथा पहिरोजन्य विपद्बाट जोगिन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ।