काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धारसँगै पुनःस्थापनाको काम अघि बढाइने बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रभावित नागरिकको पुनःस्थापना कसरी गर्ने भन्ने विषयमा छलफल अघि बढाइएको जानकारी दिनुभएको हो ।
स्थानीय सरकारसँगको समन्वयमा बाढीबाट प्रभावित नागरिकको सङ्ख्या तथा भएको भौतिक क्षतिको विवरण सङ्कलन सुरु भइसकेको उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाएका छन् । विपत्तिबाट प्रभावित नागरिकको पीडा सरकारले गम्भीरतापूर्वक बुझेको उहाँको भनाइ छ ।
“उहाँहरूको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्याउनु अबको बाटो हो,” प्रधानमन्त्री शाहले भन्नुभएको छ । उहाँले प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पार्नुभएको छ ।
पुनःस्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि अहिले खोज तथा उद्धारसँगै राहत, स्वास्थ्य सेवा र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी छ । अब उद्धारपछि प्रभावितको दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राखिने सरकारको तयारी देखिएको छ ।