प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा केल्मी नेपालको १५ लाख ५ हजार सहयोग

1.1k Shares

काठमाडौं । खेलकुद पोसाक तथा सामग्री उत्पादक कम्पनी केल्मी नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

कम्पनीले आर्थिक सहयोगसँगै रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि एकदेखि डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश हुने ‘क्लोथ बैंक’ सञ्चालन गर्ने घोषणा पनि गरेको छ।

केल्मी नेपालले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा क्लोथ बैंक सञ्चालनमा ल्याउने जनाएको छ। त्यसबाट प्रभावित परिवारलाई आवश्यकताअनुसार निःशुल्क कपडा उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार राहत सामग्री मनपरी रूपमा वितरण गरिने छैन। नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा क्लोथ बैंकमार्फत कपडा वितरण गरिनेछ। यसले वास्तविक पीडितसम्म मात्रै राहत पुग्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

यसैबीच, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ। सोरुम क्षतिग्रस्त भएपछि केल्मीले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी थालेको छ।

केल्मी नेपालले विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार