नेपाली सेनाजस्तै पोशाकमा देखिएको ‘ग्रीन आर्मी’ को हो ?

1.2k Shares

१६ भदौ, काठमाडौं । पछिल्लो समय त्रिशूली तथा बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धार तथा राहत कार्यमा सक्रिय एउटा समूह सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ । उक्त समूहलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला कतिपयले यसलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को ‘निजी आर्मी’ समेत भनेका छन् । तर ग्रीन आर्मी नेपालले त्यस्ता दाबी अस्वीकार गरेको छ।

वास्तवमा ग्रीन आर्मी नेपाल कुनै सरकारी सुरक्षा निकाय वा राजनीतिक दलको फौज नभई वातावरण संरक्षण, सामाजिक सेवा र विपद् व्यवस्थापनमा युवाहरू तथा विद्यार्थीलाई सहभागी गराउने उद्देश्यले स्थापना गरिएको गैरनाफामूलक संस्था भएको संस्थाका चिफ मार्सल सविन शर्माले बताएका छन्।

भूकम्पपछि सुरु भएको अभियान

सविन शर्माका अनुसार ग्रीन आर्मी नेपालको अवधारणा २०७२ सालको विनाशकारी भूकम्पपछि जन्मिएको हो। भूकम्पका बेला राहत तथा उद्धारमा खटिएका केही युवाहरूले विपद्का समयमा मात्र होइन, भविष्यमा आउने आपतविपतका बेला पनि संगठित रूपमा मानवीय सेवा गर्नुपर्ने सोचका साथ अभियान सुरु गरेका थिए।

सुरुआती चरणमा काठमाडौंको साँखु क्षेत्रमा विद्यालयका विद्यार्थीलाई समेटेर सरसफाइ, शौचालय निर्माण, राहत वितरण तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिएको संस्थाले जनाएको छ। यही अभियानलाई संस्थागत गर्दै २०७७ भदौ ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता गरिएको थियो। पछि समाज कल्याण परिषद्सँग पनि आबद्ध गरिएको बताइएको छ।

‘ग्रीन आर्मी’ नाम कसरी रह्यो ?

संस्थाका अनुसार सुरुमा विद्यालय तहका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई वातावरण संरक्षण अभियानमा सहभागी गराउँदै उनीहरूलाई ‘ग्रीन वारियर’ भनेर चिनाइन्थ्यो। तर उक्त नाम विद्यार्थीले सहज रूपमा ग्रहण गर्न नसकेपछि हरियाली जोगाउने फौज भन्ने भावनासहित संस्थाको नाम ‘ग्रीन आर्मी नेपाल’ राखिएको दाबी गरिएको छ।

यद्यपि नाममा ‘आर्मी’ शब्द र नेपाली सेनासँग मिल्दोजुल्दो देखिने पोशाकका कारण अहिले संस्थाको वैधानिकता तथा पहिचानबारे सार्वजनिक बहस सुरु भएको छ।

पोशाक प्रयोगका लागि अनुमति भएको दाबी

ग्रीन आर्मी नेपालका अनुसार पोशाक तथा संस्थाका गतिविधि सञ्चालनका विषयमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र जंगीअड्डाको राय लिएपछि जिल्ला प्रशासन कार्यालयबाट २०७८ साउन २९ गते अनुमति प्रदान गरिएको थियो। संस्थाले आफूहरूले कानुनी प्रक्रियाअनुसार नै गतिविधि सञ्चालन गर्दै आएको दाबी गरेको छ।

हाल बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा सक्रिय देखिएपछि ग्रीन आर्मी नेपाल पुनः चर्चामा आएको हो। संस्थाले आफूहरू कुनै निजी सेना नभई विपद्का बेला स्वयंसेवी रूपमा मानवीय सेवामा खटिने नागरिक संस्था भएको स्पष्ट पारेको छ।

 
 
सम्बन्धित समाचार