काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको उदाहरण भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भइरहेकाले त्यसबाट उत्पन्न जोखिमसमेत बढ्दै गएको बताए।
‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन,’ उनले भने, ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो।’
प्रधानमन्त्री शाहका अनुसार भोटेकोसीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति हो। उनले घटनापछि विज्ञहरूसँग छलफल गर्दा हिमनदी तथा हिमचट्टानमा आएको परिवर्तनका कारण यस्तो विपत्ति सिर्जना भएको हुनसक्ने जानकारी पाएको बताए।
‘हामी सबैमाझ कसरी यो विपत् आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञहरूसँग छलफल गर्दा रसुवाको भोटेकोसी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ,’ उनले भने।
उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै बढिरहेको जोखिमप्रति थप सचेत हुनुपर्ने आवश्यकता औँल्याए। साथै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका विपत्तिका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्नुपर्ने समय आएको बताए।
प्रधानमन्त्री शाहले हिउँ–चट्टान किन खस्यो र यति ठूलो मात्रामा पानी कसरी आयो भन्ने विषयमा वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए। उनका अनुसार यी प्रश्नको जवाफ खोज्नु मानव सभ्यताकै साझा दायित्व हो।
प्रधानमन्त्री शाहले हिमनदीभित्र जमेको तथा पग्लिएको पानीका कारण हिमनदीको ठूलो भाग पतन हुँदा बरफ र पानी दुवै मिसिएर बाढीको रूप लिएको हुनसक्ने बताएका छन्।
‘विज्ञहरू भन्नुहुन्छ, भोटेकोसी नदीमा आएको बाढी हिमनदीको एउटा सिंगै भाग ठूलो उचाइबाट ठूलो ऊर्जासहित खस्दा सिर्जना भएको हुनसक्छ,’ उनले भने, ‘खसेकै ठाउँमा पग्लिन सुरु गरी निरन्तर पग्लिँदै ठूलो बाढीको रूप लिएको हुनसक्छ।’
हिमालयको उचाइबाट नेपालतर्फको भूभाग क्रमशः ओरालो हुँदै जाने भएकाले बाढीले थप ऊर्जा र पानीको मात्रा समेट्दै तलतर्फ ठूलो विनाश निम्त्याएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि सरकार अहिले खोज, उद्धार र राहत वितरणको चरण पार गर्दै पुनःस्थापनातर्फ अघि बढिरहेको बताएका छन्।
प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार तथा मनोपरामर्शलाई प्राथमिकतामा राखेर सरकारले पुनःस्थापनाका काम अघि बढाइरहेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार विपत्तिबाट प्रभावित नागरिकलाई सुरक्षित र सामान्य जीवनमा फर्काउन आवश्यक सबै उपाय अवलम्बन गरिनेछ।