पृथ्वी राजमार्ग बन्द भएपछि ट्रकबाट उपत्यकामा एलपी ग्यास ल्याउन थालियो

813 Shares

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योगीले वैकल्पिक मार्गबाट ट्रकमा ग्यास ल्याउन थालेका छन्।

आइतबार कृष्णभीरमा सडक भत्किएपछि काठमाडौँ उपत्यकालाई जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। त्यसपछि उद्योगीले त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै उपत्यकामा एलपी ग्यास ल्याउन थालेका हुन्।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अनुसार एभरेस्ट र सुगम ग्यास मंगलबारदेखि नै वैकल्पिक मार्ग हुँदै उपत्यकामा आउन थालेका छन्।

सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बजारमा ग्यासको आपूर्ति सहज बनाउन ट्रकमार्फत ग्यास ल्याउन थालिएको जानकारी दिनुभयो।

उहाँका अनुसार नेपाल आयल निगमले तोकेका उपत्यकाबाहिरका विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट सिलिन्डर भरेर उपत्यकामा ल्याउन थालिएको हो। काठमाडौँ उपत्यकाबाट खाली सिलिन्डर चितवन, नवलपरासी, बारा, पर्सा र मकवानपुरलगायतका जिल्लामा पठाएर ग्यास भरी ट्रकमार्फत फिर्ता ल्याउने गरिएको छ।

विपद्का कारण आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक सडक प्रयोग गरेर ग्यास ल्याउने व्यवस्था गरिएको सङ्घले जनाएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार सामान्य अवस्थामा बुलेटमार्फत ग्यास ल्याउँदा सहज हुने भए पनि अहिले ट्रकबाट सिलिन्डर ल्याउनुपर्दा बाटोमा जाम हुने र समय बढी लाग्ने समस्या छ।

उपत्यकासँग जोडिएका धादिङ, काठमाडौँ र काभ्रेलगायतका जिल्लामा रहेका १८ वटा ग्यास उद्योगले ग्यास रिफिलिङ गरी बजारमा पठाउँदै आएका थिए। तर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास बुलेट आउन नसक्दा बाहिरी जिल्लामा रहेका ग्यास प्लान्टबाट सिलिन्डर भरेर ट्रकमार्फत उपत्यकामा ल्याउने व्यवस्था गरिएको हो।

यसैबीच नेपाल आयल निगमले राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात तथा आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार