बाढीको विपत्तिमा कोरियाको साथ, राहत बोकेर आयो सैन्य जहाज

904 Shares

काठमाडौं । बाढीबाट प्रभावित नेपाली नागरिकका लागि राहत सामग्री तथा उद्धार टोली बोकेको दक्षिण कोरियाली वायुसेनाको जहाज काठमाडौं आइपुगेको छ।

दक्षिण कोरियाली वायुसेनाको केसी–३३० साइग्नस विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानमा राहत सामग्रीसँगै विपद् उद्धार तथा खोजीका लागि टोली पनि आएको छ।

दक्षिण कोरियाले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि नेपालमा थप मानवीय सहायता पठाएको हो। यसअघि नै दक्षिण कोरियाली उद्धार टोली नेपाल आएर बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको छ।

दक्षिण कोरियाली उद्धार टोलीमा ४४ जना सदस्य, पाँचवटा खोज तथा उद्धारमा प्रयोग हुने कुकुर र करिब ७०० थान उपकरण रहेको बताइएको छ। टोलीले करिब १० दिन नेपालमा रहेर खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्नेछ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दक्षिण कोरियाली नागरिकको खोजीलाई पनि टोलीले प्राथमिकतामा राखेको छ। बाढीमा नौ जना दक्षिण कोरियाली नागरिक अझै बेपत्ता रहेको दक्षिण कोरियाली पक्षले जनाएको छ।

दक्षिण कोरियाली टोलीले नेपाली सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्र, विशेषगरी सुरुङ तथा पहुँच कठिन भएका स्थानमा खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ।

 
 
 
सम्बन्धित समाचार