एनभीएलमा विदेशी खेलाडीको जमघट, ९ देशका १८ खेलाडी नेपालमा

1.7k Shares

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) मा खेल्न ९ देशका १८ विदेशी खेलाडी नेपाल आएका छन्।

नेपाल भलिबल लिग यही भदौ १९ देखि २७ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुँदैछ। लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा सहभागी प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधानअनुसार विभिन्न देशका खेलाडी अनुबन्ध गरिएको हो। एक जना विदेशी खेलाडी भने अझै नेपाल आउन बाँकी रहेको आयोजकले जनाएको छ।

यसपटक एनभीएलमा एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकाबाट खेलाडी आएका छन्। पाकिस्तानबाट सबैभन्दा धेरै पाँच खेलाडी नेपाल आएका छन् भने भारत र मंगोलियाबाट तीन–तीन खेलाडी छन्। पोल्यान्ड, बेलारुस, इरान, रूस र बेनिनबाट एक–एक खेलाडी आएका छन्।

कुन टोलीमा कुन देशका खेलाडी ?

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने सगरमाथा स्म्यासर्सले पाकिस्तानका अइमल खान, फखर वाट्टो र फैजान उल्लाहलाई अनुबन्ध गरेको छ।

मधेश वारियर्सले भारतका मोहन उग्रपान्डियन, विनित कुमार र रमन कुमारलाई टोलीमा समेटेको छ। मोहन सेटर तथा विनित र रमन स्पाइकर हुन्।

काठमाडौं रेड्सले पाकिस्तानका अहमेद राजा र एडनान खान तथा सर्बियाका स्टेफान ओकोसानोभिचलाई अनुबन्ध गरेको छ।

गण्डकी प्रदेशको अन्नपूर्ण स्पाइकर किंग्समा मंगोलियाका उरानबायर मंखबायर, इंख एर्डेन र तुर्मान्डाख छन्। उनीहरू मंगोलियाको राष्ट्रिय टोलीका खेलाडी हुन्।

कर्णाली शिवराजले पोल्यान्डका इमिलियन स्केतेक, बेलारुसका आर्टसिओम कुड्रासोउ र इरानका अलिरेजा अबालोचलाई टोलीमा भित्र्याएको छ।

त्यस्तै, सुदूरपश्चिमको खप्तड फाल्कन्सले बेनिनका बोस्को डेटे, रूसका अर्टेम किसेलेभ र ब्राजिलका एक सेटरलाई अनुबन्ध गरेको छ। यस टोलीमा तीन फरक महादेशका खेलाडी रहनेछन्।

नेपालमा यसअघि हुने भलिबल प्रतियोगितामा प्रायः भारत र पाकिस्तानका खेलाडीको सहभागिता हुने गरेकोमा एनभीएलमा भने युरोप, अफ्रिका र ल्याटिन अमेरिकी देशका खेलाडीसमेत सहभागी हुनुले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाएको छ।

आयोजकका अनुसार विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीबाट सिक्ने अवसरसमेत मिल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार