काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । बाढीमा परी हालसम्म १ हजार २०४ जनाको मृत्यु भएको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले राहत तथा उद्धारसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना छन् ।
सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार गरिरहेका छन् । बाढीका कारण सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले कतिपय स्थानमा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।
विपद्का बेला नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।
खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ । बुधबार मात्रै ८० वटा हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्रबाट समेत २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग भइरहेको छ । सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट नागरिकको उद्धार र राहत सामग्री पुर्याउने काम भइरहेको छ ।
प्राधिकरणको विवरणअनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन् । यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन छन् ।
नुवाकोटबाट १ हजार ५५८ जना, विदेशी नागरिक ५८३ जना तथा पर्यटकसँग गएका नेपाली १६४ जना समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
बाढी प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धारलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम भइरहेको छ ।
ठुलो मानवीय तथा भौतिक क्षति भएको र हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।
सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी निकाय प्रभावित क्षेत्रमा निरन्तर उद्धार तथा राहत कार्यमा खटिएका छन् । सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले उनीहरूको खोजी र परिवारसँग सम्पर्क स्थापित गर्ने प्रयासलाई प्राथमिकतामा राखिएको छ ।