कृष्णभीरमा पहिरोपछि काठमाडौँमा ग्यास अभाव

1.5k Shares

काठमाडौं । धादिङको कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। मुख्य आपूर्ति मार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यास अभाव देखिन थालेको हो।

त्रिशूली नदीमा आएको बाढीले सडकको केही भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो गएको थियो। त्यसपछि काठमाडौँसँग तराई क्षेत्रको सीधा सडक सम्पर्क प्रभावित भएकाले ग्यासका ठूला बुलेट उपत्यकासम्म पुग्न सकेका छैनन्।

ग्यासको अभाव हुन नदिन नेपाल आयल निगम र ग्यास उद्योगीहरूले वैकल्पिक व्यवस्था अघि बढाएका छन्। तराई क्षेत्रका बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासीका उद्योगमा खाली सिलिन्डर पठाएर ग्यास भर्ने र ट्रकमार्फत वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ।

उपत्यकामा दैनिक करिब १ लाख २५ हजार सिलिन्डर ग्यासको माग रहेको अवस्थामा सडक अवरोधका कारण आपूर्ति व्यवस्थामा ठूलो चुनौती देखिएको छ। निगमले संकटको अवस्थामा घरायसी उपभोक्तालाई प्राथमिकता दिने जनाएको छ।

ग्यास उद्योगीहरूका अनुसार आपूर्ति सहज बनाउन दैनिक करिब २ सय ट्रक परिचालन गर्ने तयारी गरिएको छ। १०० ट्रकले खाली सिलिन्डर तराईतर्फ लैजाने र १०० ट्रकले भरिएका सिलिन्डर उपत्यका भित्र्याउने योजना रहेको छ।

 
 
 
सम्बन्धित समाचार