बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गए पनि कर्जाको माग अपेक्षाअनुसार नबढेपछि नेपाल राष्ट्र बैंकले आज १८ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तीन महिनाका लागि बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
बैंकिङ प्रणालीमा पछिल्लो समय निरन्तर निक्षेप बढिरहेको भए पनि सोही अनुपातमा कर्जा लगानी हुन सकेको छैन। भदौ १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ८३ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। सोही अवधिमा कर्जा लगानी भने ५९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको औसत सीडी रेसियो ७१.४१ प्रतिशत कायम भएको छ। सीडी रेसियो न्यून रहनुले बैंकहरूसँग ठूलो मात्रामा लगानीयोग्य रकम थुप्रिएको देखाउँछ। हाल बैंकिङ प्रणालीमा १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको अनुमान छ।
तर कर्जाको माग कमजोर हुँदा बैंकहरूले उपलब्ध रकम लगानी गर्न सकिरहेका छैनन्। यसले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना गरेको छ।
अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाबाट नियमित रूपमा रकम प्रशोचन गर्दै आएको छ। आजको १८ अर्ब रुपैयाँ प्रशोचन पनि यही प्रक्रियाअन्तर्गत गर्न लागिएको हो।