काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन नयाँ ट्र्याक खोल्ने काम अघि बढाइएको छ। त्यसका लागि बिहीबारदेखि रुख कटान सुरु गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार कृष्णभीरमा सडक खोल्न पहिरोको दुवैतर्फबाट जनशक्ति परिचालन गरिएको छ। हाल १८ जना जनशक्ति रुख कटानमा खटिएका छन्। सडक निर्माणका लागि आवश्यक उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
रुख कटानको काम सम्पन्न भएपछि निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने तथा नयाँ ट्र्याक निर्माण गर्ने काम अघि बढाइनेछ। तत्कालका लागि अस्थायी ट्र्याकमार्फत सडक सञ्चालनमा ल्याउने सरकारको योजना छ।
त्रिशूली नदीको बाढी तथा कटानका कारण कृष्णभीरमा पृथ्वी राजमार्गको ठूलो भाग भासिएपछि यातायात प्रभावित भएको हो। सडक भासिएपछि काठमाडौं र पश्चिम नेपालबीचको नियमित आवागमनमा समस्या आएको छ। अहिले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
सरकारले कृष्णभीरमा तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालन गर्ने र दीर्घकालीन समाधानका लागि स्थायी पुनर्निर्माणका विकल्प अध्ययन गर्ने जनाएको छ। नयाँ ट्र्याक खोल्ने कामसँगै आवश्यक संरचना निर्माण गरी सडक सञ्चालनलाई प्राथमिकता दिइएको छ।
यसअघि सडक विभागले कृष्णभीरमा स्थायी रूपमा सडक पुनर्निर्माण गर्न समय लाग्ने भएकाले तत्काल वैकल्पिक ट्र्याक प्रयोग गर्नुपर्ने जनाएको थियो। अहिले रुख कटान सुरु भएसँगै अवरुद्ध सडक खुलाउने कामले गति लिने अपेक्षा गरिएको छ।