बीपी राजमार्गमा मालवाहक सवारीलाई राति मात्रै सञ्चालन अनुमति

925 Shares

काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभिरमा बाढीका कारण सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ । सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधनलाई रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनको तौल सीमा तोक्दै आलोपालो प्रणाली लागू गरेको हो । बीपी राजमार्गमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमा एकआपसमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ । ट्राफिक जाम हुन नदिन जिल्ला प्रशासन कार्यालय सिन्धुली र ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।

ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्ती तथा अवरोध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका काम तत्काल अघि बढाउने जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधन सहज रूपमा पास गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजर र अन्य उपकरण तयारी अवस्थामा राखिएको बताए ।

सम्बन्धित समाचार