काठमाडौँ । भोटेकोशी बाढीपछि नेपालमा परेको विपद्का बेला हालसम्म २९ देशसहित ठूला अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन् । केही मुलुकले अत्यावश्यक मानवीय सहायता उपलब्ध गराएका छन् भने केहीले आर्थिक सहयोगसहित राहत सामग्री पठाएका छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार दिउँसो गरेको प्रेस ब्रिफिङअनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्रले नेपाललाई सहयोग गरेका छन् ।
त्यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संघसंस्थाले पनि सहयोग प्रदान गरेका छन् । व्यक्तिगत तथा सामाजिक संस्थाहरूले समेत सहयोगको घोषणा गरेका छन् । नेपाल सरकारले विपद्का बेला सहयोग र ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गरेको छ ।
भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूको शव पहिचानका लागि चार देशका फरेन्सिक टोली नेपालमा खटिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारत, चीन, सिंगापुर र दक्षिण कोरियाबाट आएका टोलीले नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै मृतकका अवशेषबाट डीएनए संकलन, विश्लेषण र पहिचानको काम गरिरहेका छन् ।
बाढीमा ज्यान गुमाएकाहरूको पहिचान तथा परिवारलाई शव हस्तान्तरण गर्ने प्रक्रियालाई तीव्र बनाउन विदेशी विशेषज्ञहरूको सहयोग लिइएको मन्त्रालयले जनाएको छ ।