एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

1.2k Shares

काठमाडौँ । एफवानसफ्ट ग्रुपले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेसनल, इसेवा मनी ट्रान्सफर तथा अन्य कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो । बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन समयमा प्रभावितसँगै उभिन र राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले योगदान गरिएको ग्रुपले जनाएको छ ।

इसेवा र फोनपेबाट पनि करोडौँ सहयोग

एफवानसफ्ट ग्रुपका अनुसार इसेवामार्फत हालसम्म १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश रहेको कम्पनीले जनाएको छ ।

भारतबाट एनपीसीआई इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरेको छ ।

सम्बन्धित समाचार