चण्डिकाको उद्धारले आशा जगाएको छ : प्रधानमन्त्री

1.1k Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको जीवितै उद्धार हुनु विपद्को कठिन अवस्थामा पनि खोज तथा उद्धार कार्य जारी रहेको सन्देश भएको बताएका छन्।

प्रधानमन्त्री शाहले चण्डिकाको उद्धारले प्रभावित परिवार र आफन्तमा आशा जगाएको उल्लेख गर्दै उद्धार टोलीको प्रयासको प्रशंसा गरेका छन्। उनले विपद्का बेला राज्यका सबै संयन्त्र परिचालन गरेर खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको बताएका छन्।

नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको बाढीले पुरिएको घरबाट उनकी श्रीमती चण्डिकालाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको थियो। इन्स्पेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उद्धार गरेकी उनलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको थियो।

प्रधानमन्त्रीले यस घटनाले विपद्को कठिन परिस्थितिमा पनि उद्धारका सम्भावना जीवित रहेको देखाएको बताएका छन्। उनले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कामलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट पनि दुई जनाको जीवितै उद्धार गरिएको थियो। सुरुङमा फसेका कामदारको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी विशेषज्ञ टोलीहरू परिचालन भइरहेका छन्।

सम्बन्धित समाचार