काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढीमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र तिर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, मृतक सशस्त्र प्रहरीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययन गर्न शैक्षिक शुल्क छुट दिने निर्णय गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
निर्णयअनुसार मृतकका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट १५ लाख रुपैयाँ, ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला वा आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम पाँच लाख रुपैयाँ र ‘सशस्त्र प्रहरी बल, नेपाल विपत् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम थप पाँच लाख रुपैयाँ उपलब्ध गराइनेछ।
यसरी मृतक सशस्त्र प्रहरीका परिवारलाई तत्काल कुल २५ लाख रुपैयाँ राहत प्रदान गरिने भएको हो। सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यसमेत भोटेकोशी बाढीमा परी मृत्यु भएको भए प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिने निर्णय गरिएको छ। बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णयसमेत भएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्। बाढीबाट ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ।
त्यसैगरी, बाढीमा परी अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख रुपैयाँ, घरबारविहीन भएमा एक लाख रुपैयाँ तथा आंशिक रूपमा भौतिक संरचनामा क्षति पुगेका र घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने सहप्रवक्ता थापाले बताए।
सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ।
टिमुरेस्थित बोर्डर आउट पोस्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीबाट ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरीको हकमा भने राहत रकमबाट कुनै कटौती नगरिने जनाइएको छ।