काठमाडौँ । यस वर्षको शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि २९ टोलीका ३४८ जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार शरद् ऋतुमा विभिन्न हिमाल आरोहणका लागि हालसम्म ३२ टोलीका ३६७ जनाले अनुमति लिएका छन्, जसमध्ये अधिकांश मनास्लु आरोहणका लागि छन्।
मनास्लु आरोहणका लागि जारी पर्वतारोहण अनुमतिबाट मात्रै १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। सबै हिमालका लागि जारी अनुमतिबाट भने हालसम्म १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी संकलन भएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा पछिल्ला केही वर्षदेखि आरोहीको आकर्षण बढ्दै गएको छ। आरोहणको मुख्य सिजन सुरु भएसँगै शेर्पा टोलीले बेसक्याम्पमा आवश्यक तयारी तथा आरोहण मार्ग निर्माणको काम अघि बढाइरहेका छन्।
आरोहीहरू भने सेप्टेम्बर ७ पछि मात्र बेसक्याम्पतर्फ जाने तयारीमा छन्। अहिले मनास्लु आधार शिविर नजिकैको सामागाउँ आरोही तथा उनीहरूका सहयोगीले भरिभराउ भएको जनाइएको छ।
मनास्लु संसारको आठौँ तथा नेपालको सातौँ अग्लो हिमाल हो। जोखिमपूर्ण आरोहणका कारण यसलाई ‘किलर माउन्टेन’का रूपमा समेत चिनिन्छ। सामागाउँबाट करिब दुई घण्टाको पैदल यात्रामा मनास्लुको बेसक्याम्प पुग्न सकिन्छ।
आरोहीहरूले मौसम र आरोहणको अवस्थाअनुसार मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म समय लगाउने गरेका छन्। सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलोपटक मनास्लुको सफल आरोहण गरेका थिए।