काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाबाट दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको छ।
कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि ग्यास बोकेका बुलेट काठमाडौँसम्म पुग्न नसकेका कारण वैकल्पिक व्यवस्थामार्फत उपत्यकामा ग्यास आपूर्ति गर्न थालिएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार चितवन, मकवानपुर, बारा, पर्सालगायत जिल्लाका उद्योगमा खाली सिलिन्डर भरेर काठमाडौँ पठाउने व्यवस्था गरिएको छ। उहाँका अनुसार बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार करिब ३५ हजार सिलिन्डर काठमाडौँ पठाइएको छ।
नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगमा सिलिन्डर भरेर काठमाडौँ ल्याउन अनुमति दिएपछि बिहीबारदेखि नै वैकल्पिक मार्गबाट ग्यास ढुवानी सुरु गरिएको हो।
काठमाडौँमा खाली भएका सिलिन्डर ट्रकमा राखेर सम्बन्धित उद्योगसम्म पुर्याउने र त्यही ट्रकमार्फत ग्यास भरिएका सिलिन्डर पुनः काठमाडौँ ल्याउने गरिएको सङ्घले जनाएको छ।
सङ्घका अनुसार चितवनमा नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री र साईबाबा ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ पठाइँदैछ। नवलपुरको गैँडाकोटबाट जानकी र श्रीराम ग्यास, बारा तथा पर्साबाट सीताश्री, श्रीमाया र लियो ग्यास पठाइँदैछ।
त्यस्तै पर्सा र धनुषाबाट हिमाल तथा सगर ग्यास र हेटौँडाबाट एभरेस्ट तथा सुगम ग्यासका सिलिन्डर भरेर काठमाडौँ पठाउने गरिएको छ।
बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार चितवनमा रहेका उद्योगबाट ग्यास भरेर नियमित रूपमा काठमाडौँ पठाउने काम भइरहेको छ।
सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि निजी ग्यास उद्योगसँग सहकार्य गरेर आफ्ना ‘एसटीसी’ सिलिन्डरमा ग्यास भरी काठमाडौँ पठाउन थालेको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कर्पोरेसनको धादिङको जुगेखोलास्थित एलपीजी प्लान्टमा समेत असर परेको छ। आफ्नो प्लान्टमा ग्यास बोकेको बुलेट पुग्न नसकेपछि कर्पोरेसनले सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका पठाइरहेको जनाएको छ।
सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ। अहिले वैकल्पिक व्यवस्थाबाट मागअनुसार ग्यास आपूर्ति गर्न सकिने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ।
वैकल्पिक मार्गबाट बाहिरका जिल्लामा ग्यास भरेर काठमाडौँ ल्याउँदा थप ढुवानी खर्च लाग्ने भएकाले नेपाल आयल निगमले त्यस्ता सिलिन्डरको मूल्य बढाएर बिक्री गर्न अनुमति दिएको छ।
निगमको अनुमतिअनुसार प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी बिक्री गर्न सकिनेछ। यससँगै पहिले दुई हजार ६० रुपैयाँ रहेको ग्यास सिलिन्डरको मूल्य बढेर दुई हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
सडक अवरोधका कारण नियमित आपूर्ति प्रभावित भए पनि वैकल्पिक मार्ग र अन्य जिल्लाका उद्योग प्रयोग गरेर उपत्यकामा ग्यासको अभाव कम गर्ने प्रयास भइरहेको उद्योगीहरूले बताएका छन्।