रसुवा बाढी : कर्णालीका २ जनाको मृत्यु पुष्टि, १६८ जना अझै बेपत्ता
1.2k
Shares
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी कर्णाली प्रदेशका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीपछि कर्णालीका विभिन्न जिल्लाका ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्।
उपलब्ध विवरणअनुसार कर्णालीबाट रसुवा पुगेका १६८ जना अझै बेपत्ता रहेको जनाइएको छ। बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेकाले परिवारजन चिन्तित बनेका छन्।
बाढीका कारण रसुवा तथा आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार तथा खोजी कार्य जारी रहे पनि दुर्गम भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा बाढीले थुपारेको माटो–ढुंगाका कारण बेपत्ता व्यक्तिको खोजीमा चुनौती देखिएको छ।
सम्बन्धित निकायले बेपत्ता व्यक्तिको खोजी तथा पहिचानका लागि सुरक्षा निकाय परिचालन गर्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। पछिल्लो समय बाढी प्रभावित क्षेत्रमा केही व्यक्तिलाई जीवितै उद्धार गर्न सफल भएकाले अन्य बेपत्ताको खोजीमा पनि आशा कायम रहेको छ।