दिक्तेलको बेसक्याम्पमा भेटिएको विस्फोटक पदार्थ सोमबार निष्क्रिय पारिने

1.4k Shares

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ उक्त पदार्थ फेला पारेका हुन् ।

स्थानीयले भेटेको विस्फोटक पदार्थ सोमबार बिहान निष्क्रिय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिए ।

द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेकाले सोही समयमा विस्फोटक पदार्थ राखिएको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् ।

बेवारिसे अवस्थामा भेटिएको विस्फोटक पदार्थ निष्क्रिय पार्ने समय नभएकाले आसपासका क्षेत्रमा नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।

बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्ने गरेको थियो । सशस्त्र द्वन्द्वका समयमा त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो ।

व्यक्तिको जग्गामा रहेको बेसक्याम्प अन्यत्र सारिएपछि स्थानीयले खेतीपातीका लागि जमिन खन्ने क्रममा विस्फोटक पदार्थ फेला पार्ने गरेका छन् ।

सम्बन्धित समाचार