त्रिशूली–३ ‘बी’मा बेपत्ता आफन्त खोज्न माइतीघरमा धर्ना, ‘कति दिन घरमा बसेर रुने ?’

1.1k Shares

काठमाडौं । रसुवामा आएको बाढीका क्रममा त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा फसेर बेपत्ता भएका आफन्तको खोजी गर्न माग गर्दै परिवारका सदस्यहरू काठमाडौं आइपुगेका छन्।

बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन माग गर्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन्। घटना भएको १३ दिन बितिसक्दा पनि सुरुङमा फसेका आफन्तको खोजी प्रभावकारी रूपमा हुन नसकेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

दुई साता पुग्न लाग्दासमेत सरकारले खोजीमा पर्याप्त ध्यान नदिएको आफन्तहरूको गुनासो छ। उनीहरूले ‘कति दिन घरमा बसेर कुर्ने ?’ र ‘कति दिन घरमा बसेर रुने ?’ भन्दै बेपत्ता आफन्तको तत्काल खोजी गर्न माग गरेका छन्।

धर्नामा सहभागी आफन्तहरूले आफूहरूलाई घटनास्थलसम्म पुग्नसमेत रोकिएको बताएका छन्। आफन्तको अवस्था अज्ञात रहेकाले परिवारमा निरन्तर चिन्ता र पीडा बढिरहेको उनीहरूको भनाइ छ।

बाढीका कारण त्रिशूली–३ ‘बी’ क्षेत्रमा भएको दुर्घटनापछि सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारको विषयमा परिवारजनले सरकारसँग तत्काल प्रभावकारी पहल गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार